त्यी दशैं फेरी फर्केनन् ।


दशैंको शुभ-कामना !

शीर्षक त शायद अरु कसैले लेखिसकेको हुनुपर्छ तर म यहाँ आफ्नो कथा लेख्दै छु ! प्रत्येक वर्ष दशैं यसरी नै आउँछ, जान्छ । हामी संधै यही गुनासो गरिरहन्छौं –कत्ति रमाइलो थियो पोहोर परारको दशैं, कत्ति उमङ्ग थियो बाल्यकालको दशैंमा । तर आज दशैं कत्ति नीरस छ, कत्ति खल्लो छ । बिगतमा बाँच्ने त हामीलाई बानी परिसक्यो । त्यो रमाइलो त शायद त्यो उमेरको, त्यो समयको थियो होला । त्यो उमङ्ग त बालापनको थियो होला तर हाम्रो मन त्यतैतिर अडिरहन्छ । त्यो उमेर जहाँ चिची, पापा नाना पाए मनै फुरुङ्ग हुन्छ, दशैं संधै आइरहे जस्तो नलाग्ने कुरै भएन । के थाहा ! आजकलका भुराभुरिहरुलाई पनि दशैं उत्तिकै रहरलाग्दो हुँदो हो, म यसै भन्न सक्दिन ।

दशैं र मामाघरको सम्बन्ध चाहीं मलाई खुब अजीब लाग्छ – आजसम्म पनि । केटाकेटीको लागि शायद सबभन्दा प्यारो, घरबाहिर निस्कंदा जाने पहिलो ठाउँ हो मामाघर । हुँदाहुँदा दशैंमा कपडा पनि ‘मामाघर जाने लुगा’ भनेर किनिदिन्छन। मेरो लागि पनि मामाघरको बिशेष महत्तो थियो । नयाँ लुगा लगाएर मामाघर जान पाइने।। मेरो मामाघर टाढा थियो, एउटा चम्चै चम्चाले घेरिएको ठुलो चौर पार गरेर जानुपर्थ्यो। म सानैदेखि अन्तर्मुखी स्वभाबको थिएँ । जिज्ञासु थिइन, सोध्ने बानी थिएन । जीवनमा जे जती सिकें, आफैं सिकेँ, परेर सिकेँ । त्यसैले त्यी चम्चाहरुको बारे ममीबुवालाई कहिल्यै सोधिन ।बसले त्यी चम्चाहरूलाई एक फन्को मार्थ्यो । अर्को बस चडेपछी तेस्ले पनि फेरी फन्को मार्थ्यो। ए राता मकै! कुरै पो बुझ्न गारो । मामाघर हिंडेको मान्छेलाई फेरी घरै पुर्याइदेला भन्ने डर! रमाइलो चाहीं- घोडा चढेका मान्छेका ठुला-ठुला शालिक देख्दा लाग्थ्यो, हेरीरहुँ जस्तो ।त्यसैले आजसम्म पनि मलाई ‘वार मुभिज’ प्रति आकर्षण छ । मैले धेरै पछि मात्र थाहा पाएँ-त्यी चम्चाहरु टुंडिखेलको बार रहेछन।

मामाघर मन पर्नुको खाँटी कारण भने अर्कै थियो । दशैंको टिका थालीमा टिका, जमरा, अनि पैसा राखेर लगाइदिन्थे-हजुरबुवा, हजुरआमा, मामाहरुले । आजसम्म पनि त्यो थालीभरी दूई रुपयाँको हरियो हरियो नोटको सम्झना ताजै छ । म चाहीं टिका लगाइदिनु भन्दा अघिनै थालीको पैसामा झम्टा मारीहाल्थेँ । पछि पछि त मलाई टिका लगाइदिने बेला पैसै लुकाउन थाले । अर्को मजाको कुरा चाहीं मलाई टिका लगाइदिन खुब गारो थियो। टिका लगाउन मरे मान्दिनथें । मेरो हात खुट्टा समातेर टिका लगाइदिनु पर्थ्यो । टीका लगाउनेबित्तिकै पुछेर फाली पनि हाल्थें । खै किन हो आजसम्म पनि मेरो निधारमा राम्ररी टीका अडिन्न । आज मामाघरको हजुरबुवा बित्नुभएको पनि बर्षौ भैसक्यो । तर त्यी स्मरणहरु भने मेटिएका छैनन् । प्रत्येक वर्ष दशैंमा मामाघर जाँदा हजुरआमाले पुराना कुरा खोतलिहाल्नु हुन्छ- ‘कम्ता गारो थिएन, यस्लाई टीका लाउन, पैसा त यसरी लुट्थ्यो’।

त्यतिखेर हाम्रो गाउँमा दशैंको माहोल अबर्णनिय हुन्थ्यो । हाम्रो गाउँ वारीपारि गाउँको केन्द्रबिन्दु थियो – ब्यापारको बिशेषगरी । दूई-चार पसल भएको, बाटो चलेको हाम्रो गाउँले सबै गाउँलाई जोडेको थियो । फलत: दशैं तिहारमा मानिसको जमघट हुने नै भयो । मेलामाझैं बाक्लो उपस्थिती हुन्थ्यो मान्छेको – कोहि सहर झर्ने, कोहि पसल छिर्ने, कोहि लंगुरबुर्जा, पिंग आदिमा रमाइलो गर्ने । हाम्रो गाउँमा पिंग हाल्ने पिपलको काइदाको रुख छ, झ्याम्म परेको ठुलो रुख । पिंग पनि रुखको टुप्पोनै छोलाझैं मच्चाउन मिल्थ्यो । मान्छेहरु पिंग मच्चाउन को भन्दा को कम भन्दै प्रतिस्पर्धा गर्थे । पिंग खेल्ने र हेर्ने मान्छेको ताँती हुन्थ्यो । ठुला मान्छेले त पालो पाईनसक्नु हुन्थ्यो, हामी भुराभुरिलाई कसले खेलाईदेवोस त्यत्रो ‘बडेमाको’ पिंग । झुक्किएर खेलाईदिए पनि ‘यो काल्लियो, काल्लियो’ भन्दै झार्दीहाल्थे असत्तीहरुले । त्यसैले घरको पिंडीमा हामीलाई पिंग हाल्दिन्थे । चिची खाँदै त्यस्तो पिंग खेलेको हिजोजस्तो लाग्छ । रहर त ठूलै पिंग खेल्ने हुन्थ्यो तर त्यो सम्भव थिएन । तैपनि ठुलो पिंग खेल्न नपाउनु को असन्तुस्टी एकातिर पन्छाएर त्यो समय, त्यो मान्छेको भीड सम्झिदै मात्र पनि कत्ति रमाइलो लाग्छ । उमेर बढ्दै गएपछि लिंगे पिंग पनि हालियो, ठुलो पिंग पनि मच्चाइयो ।

सरर्र…..चाचाहुई!

दशैंमा अलि मन नपर्ने दिन चाहीं मलाई अस्टमी हो । कम्ता हैरान खेलउँथेनन, घर परिवारले त्यो दिन । बिहान बिहान देखि उठेर नुहाउनु पर्ने रे । कारण – नुहाएन भने अर्को जुनीमा बोका हुन्छ रे । मन नलागे पनि नुहाउन चाहीं नुहाउँथे । यही सोचेर डर लाग्थ्यो- यी सबै खसी-बोका पूर्वजन्ममा ननुहाएका होलान्, आफु पनि तेस्तै भइएला फेरी । नुहाइवरी नाला भगवती थान पुजा गर्नु जानु पर्थ्यो । ठाउँ ठाउँमा पुजा गर्दै हुल बाँधेर मन्दिर जान रमाइलै हुन्थ्यो । मन्दिरमा भने घन्टौं लाइन लाग्नुपर्थ्यो । त्यस्तै परे मान्छेले बाहिरबाटै चढाईदिन्थे । ममा भगवान प्रति आस्था (या डर भनुँ ?) चाहीं थियो र आजपनि छ । अबेरसम्म बसेर पुजा गर्थें । अनि त्यसपछि किनमेल गर्ने, खाजा खाने, लंगुरबुर्जा खेल्ने गर्थ्यौँ ।

नाला जान रहर लाग्ने मुख्य कारण भने लंगुरबुर्जा हो । मान्छेहरु लंगुरबुर्जा खेल्नकै लागि मन्दिर जान्थे । कम्ता मन पर्थेन, मलाई पनि त्यो खेल; गए एक आए डबल, तेब्बर, कति कति । आज पनी मलाई त्यो खेल तेत्तिकै मन पर्छ । खास दिमाग लगाउन पनि नपर्ने, पैसा भए  खेलो, नभए हिँडो । तेत्तिखेर सुका, मोहोर देखि रुपयाँसम्म पैसा हाल्न मिल्थ्यो । पाँच रुपयाँ राख्ने मान्छेलाई त हामी खूब धनी मान्छे भन्ठानथ्यौं । त्यस्तै परे तिनिहरुले हामी ढुकेर बसेका भुराभुरिलाई सुका मोहोर दिई पो हाल्थे । अनि तेही लंगुरबुर्जामा पैसा हाल्यो, सक्यो । एक पटक त्यसरी खेल्दा मैले बगलीभरी पैसा जितें । त्यतिखेर कुन्नि कसले एक सुका दिएको थियो । लंगुरबुर्जा खेल्ने मान्छेको भीड हुन्थ्यो, एउटा कुनाबाट छिरेर म फुच्चे पैसा राख्न बसेको थिएँ ।पैसा जितिसकेपछि भीडबाट निस्कें अनि  दङ्ग परेर शानका साथ सबैलाई देखाएँ । तर मलाई घर जानै मन लागेन । फेरी बसें, खेल्न । बिस्तारै बिस्तारै खल्ती रित्तिदैं गयो । टाट पल्टिएपछि लुत्रुक्क परेर घरतिर लागें । घर गएर सोचें- थुक्क! जितेपछि नखेलेको भए पनि हुन्थ्यो । तर त्यसपछि नि लंगुरबुर्जाको लत लागिरह्यो पछिसम्म । पछि-पछि अलि ठुलो भएपछि आफै खाले सम्म पनि भैएको छ । पैसाको लोभमा जति पनि हान्ने हुँदा खाल, बाल्टिन र गट्टी शुद्द मान्छेले थुतेर लगेको हिजो जस्तो लाग्छ ।

उमेर अलि बढ्दै गएपछि तास पनि खेल्न थालियो । गाउँमा त्यतिखेर चलेको खेल थियो- चल शत्र । शायद आजकल खेलिने फलांशको नेपाली रुप हुनुपर्छ त्यो । कुन्नि कसले सिकाइदिएको थियो त्यो खेल मलाई । हामी एकदुई जनाले जानेपछि अरु दौंतरीलाई पनि सिकायौं । केटाकेटी माझ छिट्टै लोकप्रिय भयो त्यो खेल । एक रुपयाँ सामान्य भइसकेको थियो । जतिखेर नि केटाकेटी हरु त्यही खेल्न थाले. त्यस्तै परे ठुलाबडा सँग पनि । आँगनमा, पिंडीमा, ट्वाइलेको छतमा जहाँ पनि केटाकेटीहरु तासमा झुम्मिन थाले। अत्ति भएपछि बौ-आमाहरुले गाली गरे । त्यसपछि खुलमखुल्ला तास खेलेको चाहीं देखिएन । तर उम्रेंदै तीन पातका हामी बच्चाहरु गोठमा लुकी लुकी भए पनि चल शत्र खेल्थ्यौं ।

बिजया दशमी !

आज बर्षौंपछि समय बदलिसकेको छ । संगै हुर्के बढेका, पढेका दौंतरीहरु पनि छुटिसके, कोहि कता कोहि कता । फेसबुकमा ‘Happy Dasha।n’ लेखेर दशैं सकिन्छ, विवसता छन् सबैको आ-आफ्नै । बालापन अब स्मरणमा मात्र बाँकी छ । अब ‘मामाघर जाने लुगा’ कसैले किन्दिदैन । थालीको पैसा झम्टा मार्न मन लाग्दैन, टीका पुछेर फाल्न सकिन्न । यत्ती हो- हजुरआमाको कुरा सुनेर रमाइलो लाग्छ । सोच्छु- म पनि त्यस्तो थिएँ र? गाउँ सुनसान छ, पहिले जस्तो चहलपहल छैन दशैं जस्तो महान चाडमा पनि । फाट्टफुट्ट मान्छे मात्र उकालो-ओरालो गरेको देखिन्छ । त्यो ठुलो झ्याम्म परेको पिपलको रुख पनि बुढो भैसक्यो । यध्यपि त्यस्मा अझै पिंग हालिन्छ । फरक यत्ती हो- पहिला पिंग हाल्न पनि मान्छेको भीड हुन्थ्यो, आज खेल्ने मान्छे पनि छैनन् । नाला बजार, मन्दिर जान पनि त्यती उत्साह छैन । जाने पनि कोसँग? साथिहरु पनि छैनन् । मन्दिर खाली छ, बजार सुनसान । फाट्टफुट्ट भुराभुरिहरु लंगुरबुर्जा खेलेको देखिन्छ । अब त त्यती मन पनि छैन । चलशत्रको स्थान आजकल फलाँशले लिइसकेको छ । खेल्न मन पर्छ, रमाइलो गर्न मन पर्छ तर खेल्ने मान्छे खोई? जीवन बुझ्न पनि कति गारो? त्यही पुरानो समयमा फर्किन मन छ तर कसरी? त्यी सबै दशैंहरु फेरी फर्केर आए पनि हुने, तर अब त्यो सब सम्भव छैन । समयले कोल्टो फेरिसकेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s

Enter your email address to follow this blog and receive notifications of new posts by email.

Join 3,202 other followers

%d bloggers like this: